२२ जेठ २०८३, शुक्रबार

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ ।

बेदकोट नगरपालिका–३ चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक विस्तार भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नम्बर ३ का अध्यक्ष मोहन गुर्धामीले बताए । ‘दैजीदेखि बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,’ उनले भने, ‘करीब १०–१२ किलोमिटर सडक कालोपत्र भएको छ ।’

विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो । पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवतजावतमा सहज भएको स्थानीय महेश जोशीले बताए । ‘ग्राभेल सडक हुँदा आवागनमा सास्ती भाग्नु परेको थियो, अहिले कालोपत्र सडक बनेपछि सहजै ओहोरदोहोर गर्न सकिएको छ,’ उनले भने, ‘तालसम्मै गाडी चढेर पुग्न सक्छौं ।’

कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ । बेदकोट तालसम्म सडक सञ्जाल पुगे पनि पछिल्लो समय दैजी–जोगबुढा सडक योजनाको काम सुस्तगतिमा छ । 

विक्रम संवत् २०४२ सालमा निर्माण शुरू भएको दैजी–जोगबुढा सडकखण्ड अझैसम्म पूरा हुन सकेको छैन । यो सडक तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैैभन्दा छोटो दूरीको सडकका रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्