
राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलवार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्धत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताए । उनले नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिब भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले विश्वका अन्य देशभन्दा अर्थतन्त्रमा पछाडि परेको बताए ।
सांसद गौतमले अब सबैले समावादी उत्पादन, वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए । उनले सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । उनले खाद्यान्न, फलफूल, औषधिलगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुकभित्र नै रोजगारीसमेत सिर्जना हुने बताए ।
उनले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरू निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए । कांग्रेस नेतृत्वको सरकारले विगतमा सरकारी उद्योगहरूमा अप्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए ।