भारतको उडिसामा मंगलवार अर्का एक रुसी मृत अवस्थामा फेला परेका छन् ।
विगत १५ दिनमा त्यस ठाउँमा मर्ने उनी तेस्रा रुसी नागरिक हुन् ।
मिल्याकोभ सर्गे नामक ५१ वर्षीय ती व्यक्तिको शव पारादीप बन्दरगाहमा रोकिराखेको एउटा जहाजमा फेला परेको हो । उनी एमबी अल्दनाह जहाजका प्रमुख इन्जिनीयर थिए । उक्त जहाज बंगलादेशको चित्तगोङ बन्दरगाहबाट भारतको मुम्बई जाँदै थियो ।
स्थानीय समयअनुसार बिहान ४ः३० मा उनको शव फेला परेको हो । मृत्युको कारणका विषयमा प्रहरीले यकिन विवरण दिन सकेको छैन ।
यसअघि उडिसामै दुई रुसी नागरिक पावेल आन्तोभ र भ्लादिमिर बिदेनोभको अप्राकृतिक मृत्यु भएको थियो । उडिसा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।