०५ साउन २०८३, मंगलबार

जसपाद्वारा पार्टी एकताका लागि ३ सदस्यीय वार्ता समिति गठन

जसपाद्वारा पार्टी एकताका लागि ३ सदस्यीय वार्ता समिति गठन

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले  विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंगलबार बसेको राजनीतिक समितिको बैठकले वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यहरुमा  रकम चेम्जोङ र गोविन्द चौधरी छन् । 

पार्टीका मूल सिद्धान्तहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्यूनतम् साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा र पार्टीका माग तथा मुद्दा सम्बोधन हुने देखिए सरकारमा सहभागी हुन सकिने बैठकले निष्कर्ष निकालेको छ । 

बैठकले क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति तथा संगठनहरुलाई क्रियाशील बनाउन आवश्यकता अनुसार विघटन, गठन/पुनर्गठन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

यस्तै निर्वाचनमा घात अन्तरघात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरूमाथि जाँचबुझ र छानवीन गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति पनि गठन भएको छ । समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेको बस्नेतले जानकारी दिए । 

यसैगरी. पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन् । 

बैठकले आगामी चैत्रसम्ममा पार्टीको विधान अधिवेशन गर्ने र जेठसम्ममा पार्टीको महाधिवेशन गर्ने बैठकमा मोटामोटी सहमति गरेको बस्नेतले जानकारी दिए ।  बैठकमा अध्यक्षको मौखिक प्रतिवेदनमा ४७ जना नेताहरुले आफ्ना धारणा राखेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्