
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) सरकारमा सहभागी हुनेबारे अनिर्णीत बनेको छ । सो पार्टीले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन नगरेपनि पछिल्लो समय सरकारमा जानेबारे छलफल हुँदै आएको छ ।
यहीबीचमा एसले सरकारले जाने वा नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलवार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।
००००
यसैगरी जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीका मूल सिद्धान्तहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्यूनतम् साझा नीति तथा कार्यक्रम ल्याए सरकारमा जाने बताएको छ । यस्तै पार्टीका माग तथा मुद्दा पनि सम्बोधन हुनुपर्ने जसपाको सर्त छ । यी शर्त पुरा भएमा सरकारमा सहभागी हुन सकिने जसपाको राजनीतिक समितिको बैठकले निष्कर्ष निकालेको छ ।
जसपाले पार्टी एकताको नीति पनि लिएको छ । विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वार्ता समिति गठन गरिएको हो । राजनीतिक समितिको बैठकले वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिज्ञसँग भेट गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आचारसंहिता तयार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
मंगलवार नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनेक्रममा प्रधानमन्त्रीले नेपालका सरकारी पदाधिकारीले विदेशी भेट्दा परराष्ट्रको स्वीकृति लिनुपर्ने बताएका हुन् । ‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला’ प्रचण्डले निर्देशनमा भने । यस्तै प्रचण्डले कामकाजलाई प्रभावकारी बनाउनेलगायतका ३० बुँदे निर्देशन दिएका छन् । उनले नतिजा निस्कनेगरी काम गर्न एक महिनाको समय समेत प्रदान गरेका छन् । कुनै समस्या भए आफूलाई भन्न आग्रह गर्दै प्रचण्डले राम्रो काम नभएमा कारबाही गर्नेसम्मको चेतावनी दिएका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच विश्वासको मत लिने, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्ने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेसहितका विषयमा छलफल भएको हो । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे दुई नेताबीच सहमति भएको छ ।
००००
यसैगरी प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव र रिक्त पदमा उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । मंगलवार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै उनले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।
००००
नेपाली सेनाका उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार उपरथी शाहीलाई विगतमा आर्थिक नियमितता गरेको अभियोगमा सैनिक अड्डाबाट बाहिर नजान निर्देशन दिइएको हो ।
००००
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीलाई छिटो र सहज सेवा प्रवाह गर्न यातायात कार्यालयलाई निर्देशन दिएका छन् । सोमवार काठमाडौं उपत्यकाका तीनवटा कार्यालयको अनुगमन गरेका श्रेष्ठले जनतालाई सर्वसुलभ सेवा दिन निर्देशन दिएका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको त्रुटिपूर्ण फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पुनरावेदन गरिएको जनाएका छन् ।
००००
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन् ।
००००
प्रतिनिधिसभा सदस्यहरू प्रेम आले र माया राईले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि प्रतिनिधिसभामा शपथ ग्रहण गर्न छुटेका उनीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
००००
राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।
यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए ।
००००
गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनिएको हो ।
००००
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन् । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमुख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध शाहले रिट निवेदन दायर गरेका हुन् ।
००००
दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य फिर्ता लिएका छन् ।
डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो । तर, व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताउँदै आएका थिए । मंगलबार कृषि तथा पशुपन्छी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो ।
००००
यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलियाहरू र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न २ जना समेत गरि ७ जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।