
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनका लागि पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
बागमती प्रदेशसभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना प्रदेशसभा सदस्य छन् ।