३१ जेठ २०८३, आइतबार

आधुनिक शौचालय निर्माणमा महानगर र एनआरएनबीच सहकार्य

आधुनिक शौचालय निर्माणमा महानगर र एनआरएनबीच सहकार्य

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृहजस्ता आधारभूत शहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा –९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको हो । 

शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताए । आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवर्धनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।

अत्याधुनिक सुविधासहित बन्ने शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध हुने जनाइको छ । महेन्द्रपुलमा रहेका जीर्ण संरचना हटाएर सोही स्थानमा चमेनागृहसहितको सार्वजनिक शौचालय बनाउन लागिएको हो । 

एनआरएनका कार्यकारी अध्यक्ष रविना थापाले नागरिकको दैनिक सेवासँग जोडिएको आधुनिक सार्वजनिक शौचालय निर्माणमा महानगरसँगको सहकार्यले आफूहरु उत्साहित बनेको बताइन् । उनले शहरी पूर्वाधार र स्वच्छता प्रवर्धनका  अन्य योजनामा पनि महानगरसँग हातेमालो गर्न एनआरएन तयार रहेको बताइन् । 

सम्झौताअनुसार महानगर र एनआरएनको संयुक्त लगानीमा महेन्द्रपुलको उत्तरतर्फ पाँच आना क्षेत्रफलमा सार्वजनिक शौचालय र चमेनागृह बन्नेछ । उक्त योजनामा एनआरएनले रु ६० लाख र महानगरले रु ४० लाख बराबरको खर्च व्यहोर्नेछ । पोखराका १५ स्थानमा महानगरले बनाएका र ६० बढी स्थानमा साझेदारीमा निर्माण गरिएका सार्वजनिक शौचालय छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्