
उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा रहेको कृषिउपज केन्द्र प्रयोगविहीन अवस्थामा रहेको छ ।
विक्रम संवत् २०४२ सालमा सगरमाथा ग्रामीण एकीकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौं रुपैयाँ खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम, एउटा सिटी हल निर्माण गरी दिए पनि सम्बन्धित निकायले ध्यान नदिँदा केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको थियो ।
लामो समय प्रयोगविहीन अवस्थामा पुगेको केन्द्रलाई गत आर्थिक वर्षमा कटारी नगरपालिकाले करीब २० लाख रुपैयाँ रकम खर्चेर मर्मत गरी पुनः टहरा निर्माण गरे पनि प्रयोगमा आउन सकेको छैन । अहिले पनि कृषि बजारलाई व्यवस्थित गर्न बनाइएका टहरा प्रयोगविहीन अवस्थामा छन् ।
कटारी नगरपालिकाले कृषि बजार व्यवस्थित गर्ने, कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरीे नीति ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । ‘यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि हाटबजार लाउने तयारीमा छौं,’ नगरपालिकाको विधान समितिका संयोजक समेत रहेका वडाध्यक्ष भूपेश योञ्जनले भने ।
पटक–पटक केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ सरसफाइ, अतिक्रमण गरी बसेका सर्वसाधारणलाई उठाउने लगायतका काम भए पनि त्यसले निरन्तरता पाउन नसक्दा अझै केन्द्र प्रयोगमा आउन सकेको छैन । केन्द्रमा तत्कालै तरकारी र मासु बजारलाई लैजाने तयारी भइरहेको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताइन् ।
बजारको सडक आसपास तरकारी बिक्री हुँदा जोखिम समेत बढेको भन्दै उपमेयर खड्काले केन्द्र सञ्चालनमा ल्याउने तयारीमा रहेको बताइन् ।
सगरमाथाको प्रमुख प्रवेशद्वारका रूपमा चिनिने कटारी बजारको कृषिउपज केन्द्रलाई व्यवस्थित गर्नसके ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका कृषकले उत्पादन गरेको कृषि उत्पादनले समेत बजार पाउने छन् । केन्द्र प्रयोगविहीन बनेपछि कटारी बजारमा कृषिजन्य किनमेल अव्यवस्थित किसिमले मुख्य सडककै आसपास हुने गरेको छ ।