
उपप्रधान एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले भत्काइएका सडकको अनुगमन गरेका छन् । उनले उपत्यकाको सडकको खाल्डो १५ दिनभित्र पुर्न निर्देशन दिएका छन् ।
मन्त्री श्रेष्ठले बिहीवार सीतापाइला–छाउनी सडकखण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले उक्त सडकखण्डमा रहेको खाल्डाखुल्डी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले यसअघि नै उपत्यकाको सडकको खाल्डो १५ दिनभित्र र देशैभरिको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका थिए ।
उक्त निर्देशन कार्यान्वयनको अवस्थाबारे मन्त्री श्रेष्ठले अनुगमन थालेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलगायतको टिम सहभागी रहेको थियो ।