१६ असार २०८३, मंगलबार

दिल्ली नगर निगममा भाजपा र आपका पार्षदबीच मुक्का हानाहान

पुस २२, २०७९
दिल्ली नगर निगममा भाजपा र आपका पार्षदबीच मुक्का हानाहान

भारतको दिल्ली नगर निगमले मेयर, उपमेयर र स्थायी समिति सदस्यको चुनावी प्रक्रियामा भारतीय जनता पार्टी र आम आदमी पार्टीका पार्षदहरूले मुक्का हानाहान गरेका छन् । 

हंगामाका कारण चुनावी प्रक्रिया स्थगित गरिएको छ । चार घन्टासम्म हंगामा भएको थियो । 

मेयरको चुनाव अनिश्चित भएको छ ।

आपले अदालतमा मुद्दा हाल्ने संकेत दिएको छ । 

शुक्रवार बिहान ११ बजे पार्षदहरूको शपथग्रहण शुरू हुनुपर्ने थियो । तर प्रोटेम स्पीकरले पहिला मनोनित सदस्यहरूलाई शपथ दिलाउन शुरू गर्नेबित्तिकै आपका सदस्यहरूले विरोध गर्न थाले । अनि भाजपाका पार्षदहरूले पनि नारा घन्काउन थाले ।

दुवै दलका पार्षदले धकेलाधकेल र मुक्का हानाहान समेत गरे । आपका पार्षदहरू प्रोटेम स्पीकरको कुर्सीमा समेत पुगे । 

केही पार्षदले कुर्सी उठाएर भुइँमा पछारेको पनि देखियो । धकेलाधकेल हुँदा केही पार्षद भुइँमा लडे । कतिपयलाई चोट पनि लाग्यो । 

दिल्लीका लेफ्टिनेन्ट गभर्नरले मेयर चुनावका लागि भाजपाकी पार्षद सत्या शर्मालाई प्रोटेम स्पीकर नियुक्त गरेका थिए । आपले चाहिँ मुकेश गोयलको प्रस्ताव राखेको थियो । 

अनि प्रोटेम स्पीकरले एलजीका मनोनित सदस्यलाई शपथ दिलाउन खोज्दा आपले विरोध गर्‍यो । मनोनित सदस्यलाई नभई निर्वाचित सदस्यलाई पहिले शपथ खुवाउनुपर्ने आपको माग रह्यो । 

भाजपा सांसद मीनाक्षी लेखीले आपका नेताहरूलाई नियमको जानकारी नै नरहेको बताइन् । त्यसैले उनीहरूले हंगामा गरेको लेखीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्