
मधेस प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ-आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि हालसम्म भएका गतिविधिको समीक्षा गर्दा सन्तोषजनक रहेको मूल्याङ्कन गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरोकारवाला सरकारी तथा गैरसरकारी निकायबीच समन्वय अभिवृद्धि गरी विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको मन्त्री साहले जानकारी दिए ।