३१ असार २०८३, बुधबार
राजनीति

विश्वासको मतबारे कांग्रेसले पुस २६ मा निर्णय गर्ने

विश्वासको मतबारे कांग्रेसले पुस २६ मा निर्णय गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारे पुस २६ गते नै निर्णय लिने भएको छ । 

शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतबारे सोही दिन धारणा बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । 

शनिवारको बैठकमा पुस २५ गतेदेखि शुरु हुने संसद अधिवेशनका पार्टीको भूमिकाका सन्दर्भमा छलफल भएको थियो । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र संसदीय दलका नेता शेरबहादुर देउवाले मात्र बोलेका थिए । उनीहरूले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई निर्देशन दिएका थिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन गरेको आग्रहका बारेमा छलफल भए पनि ठोस निष्कर्ष ननिकालिएको सांसद हृदयराम थानीले जानकारी दिए । विश्वासको मतबारे छलफल गर्न २६ गते बिहान ९ बजे संसदको ल्होत्से भवनमा बैठक बोलाइएको पनि उनले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरूले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्