२५ जेठ २०८३, सोमबार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको देशभर संयुक्त प्रभातफेरि

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको देशभर संयुक्त प्रभातफेरि

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरूपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य–मुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार शुरु गर्दैछन् । 

प्रभातफेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर पनि मुख्य–मुख्य शहरमा परिक्रमा गरेका थिए । 

मर्जरपश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु.४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाँभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरूको मर्जरपश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्