
गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा पछिल्लो समयमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समुह विशेषले मात्र यस्ता खानीहरू संचालन गर्दै आइरहेकाले यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन नसकेको उल्लेख छ ।
हाल यी उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालाबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको विज्ञप्तीमा जनाइएको छ । नदी तथा खानीजन्य सामाग्रीहरूको उत्पादन, उत्खनन् र संकलन रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले विना मापदण्ड अनुचित रुपले फरक फरक निर्धारण गर्ने गरेको भन्दै महासंघले यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारद्धारा नै निर्धारण गरिनुपर्दछ भनेको छ ।
साथै निर्माण सामग्रीहरूको ‘क्यारी जोन’ राज्यबाटै तोक्न र उचित मूल्य निर्धारण गर्न महासंघले विज्ञप्तिमा मार्फत् माग गरेको छ । इन्धनसहित निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योग लगायत आम उपभोक्तामा गम्भीर असर परेको महासंघको भनाइ छ ।