०१ असार २०८३, सोमबार

पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै कृषक

पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै कृषक

जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले  बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट शुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशक यता मात्रै बाख्रापालन शुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टामात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चार पाँच खसी बिक्री गर्दैआएका छन् । 

उनले भने, “बाख्रा शुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् ।

“मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उनले भने, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार पाँच  बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा  ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले अनुभव सुनाए । 

उनले बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउँछन् । “बाख्रापालनबाट केही घाटा छैन”, उनले भने, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।”

उनीसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । “भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौँ”, उनले भने, “मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।” 

अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उनले बताए । पुँगर लेक एउटा  ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौँको सङ्ख्यामा मान्छे आउँछन् । “मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरेँ”, उनले भने, “बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।” खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उनको भनाइ छ । 

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गरे । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो”, उनले भने, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।” राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । “म यहाँ बसेको तीन दशक नाघिसक्यो”, उनले भने, “म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।”

अहिले विष्टले बाख्राबाटै वार्षिक रु सात लाखभन्दा बढी कमाउँदै आएका छन् । “मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उनले भने, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुईचार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदैआएको उनले सुनाए । रासस

salt training

कमेन्ट गर्नुहोस्