२३ असार २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : सत्ता साझेदार दलमा भागबण्डादेखि धमाधम अवैध क्रसर बन्दसम्म

सरसर्ती २४ घण्टा : सत्ता साझेदार दलमा भागबण्डादेखि धमाधम अवैध क्रसर बन्दसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको हो। साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय पनि गरेको छ।
यसैगरी नेकपा एमालेले पहिलो चरणमा ४ प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । सत्ता साझेदार दलको बैठकमा एमालेले ४ प्रदेशमा मुख्यमन्त्री लिने समझदारी भएको हो । 
बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रले २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्रीमा नेतृत्व लिने समझदारी भएको छ । यस्तै बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति छ ।​
यसैगरी प्रदेश सभामुख र उपसभामुखको भागबण्डासमेत मोटामोटी रुपमा मिलेको छ । मुख्यमन्त्रीमा भागबण्डा मिलाएको आधारमा दलहरुबीच सभामुख र उपसभामुखको भागबण्डा गरिएको बालुवाटार स्रोतले जनाएको छ । 
जसअनुसार नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने पाउँदा एमाले २ र राप्रपाले १ सभामुख पाउने समझदारी जुटेको छ ।  

००००
स्थानीय प्रशासनले धमाधम अवैध क्रसर उद्योग बन्द गराउन थालेको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम ७७ वटै जिल्ला प्रशासन कार्यालयले अवैध क्रसर उद्योगमा निगरानी बढाउँदै त्यस्ता क्रसरलाई बन्द गराउन थालेका हुन् । हाल विभिन्न जिल्लामा बन्दको निर्णय भइसकेको छ भने कतिपयमा प्रक्रिया चलिरहेको छ । 

सोहीअनुसार गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आइतबार बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए ।
यसैगरी तनहुँ, कैलाली, मकवानपुर, कपिलवस्तु लगायतका जिल्लामा पनि सो निर्णय भइसकेको छ । 

यसैबीच गिट्टी, बालुवा, ढुंगा, माटो  लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा  पछिल्लो समयमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

 विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समुह विशेषले मात्र यस्ता खानीहरू संचालन गर्दै आइरहेकाले यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन नसकेको उल्लेख छ ।
००००
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।
००००
नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आइतबार क्यानले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । 
मुख्यमन्त्री पाण्डेले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका हुन् ।
००००
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमवार दिउँसो हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए । उनी सत्ता साझेदार दलको समर्थनमा आइतबार मुख्यमन्त्री बनेका हुन् । 
००००
वैदेशिक रोजगारीमा गएका २८ जना नेपाली अलपत्र परेको भन्दै सहयोगका लागि अपिल गरिएको छ । 
गत भदौमा ललितपुरको सानेपास्थित कोजी रिक्यूरमेन्ट म्यानपावरबाट मलेसियाको होङ तेज चिकेन एण्ड डक सप्लायर्स कम्पनीमा काम गर्न सन् २०२२ सेप्टेम्बर ८ अर्थात् भदौ २८ गते मलेसिया गएका २८ जना अलपत्र परेका उनीहरूले भिडियोमार्फत बताएका छन् ।
००००
सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । 

आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्र्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो । विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको परिवारको दाबी छ ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।
००००
काठमाडौंमा जारी नेपाल टी २० लीग क्रिकेट प्रतियोगितामा भएको ुस्पट फिक्सिङुमा आयोजक साझेदार संस्था सेभेन थ्री स्पोट्र्सकै संलग्नता रहेको आशंका गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धानबाट पनि लीगको आयोजक समेत रहेको साझेदार संस्था सेभेन थ्री स्पोट्र्सकै संलग्नता फिक्सिङमा रहेको आशंकालाई बल पुगेको हो ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छाडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए ।
००००
डा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको संरक्षकत्वमा गठित नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुने भएको छ ।
दुई पार्टीले आइतवार १२ बुँदे सहमति गर्दै विभिन्न मुद्दामा एक साथ अगाडि बढ्ने जनाएका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै ८ वटा मुद्दा उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विभिन्न मितिमा फैसला भएकामध्ये घुस–रिसवत र नक्कली शैक्षिक प्रमाणपत्र लगायतका ८ वटा मुद्दामा आयोगको निर्णयानुसार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारले आइतवार विज्ञप्तिमार्फत जनाएको छ ।
००००
नेपालका लागि चिनियाँ राजदूत चन सोङ आइतवार काठमाडौं आइपुगेका छन् । उनी नेपालमा २२औँ चिनियाँ राजदूतको रुपमा कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका हुन् । 

निवर्तमान चिनियाँ राजदूत होउ यान्छी कार्यकाल समाप्त भएर चीन फर्किएपछि उनी नयाँ राजदूतका रुपमा नेपाल आइपुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्