
राप्रपा नेत्री एवं समाजसेवी कुन्तीदेवी पोखरेलले विद्युत् प्रसारण लाइनको विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरी दमन र अत्याचार बन्द गर्न आग्रह गरेकी छन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत बन्ने प्रसारण लाइनको विरोधमा शंकरापुरको जहरसिंह पौवा क्षेत्रमा केही दिनयता आन्दोलन भइरहेको छ ।
आन्दोलित बनेको शंकरापुर पुगेर कुन्तीले जनताका समस्यातर्फ गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएकी छन् । ‘स्थानीयवासी आन्दोलित भइरहेका छन् । टेलिभिजनमा जनताको आवाज बोल्ने गृहमन्त्री कहाँ हुनुहुन्छ ? कुनै पनि बहानामा स्थानीय वासीन्दालाई उठिबास लगाउन पाइँदैन । सरकारको ध्यान कहिलेसम्म पुग्ने हो ?’ काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा समेत प्रतिस्पर्धा गरेकी पोखरेलले भनिन् ।
प्रहरीले महिलामाथि अत्याचार गरेको आरोप लगाउँदै पोखरेलले यसको जवाफदेही गृहमन्त्री हुने बताइन् । ‘यहाँ भइरहेको आन्दोलनप्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु । यहाँका महिलाको रोदन कसैले गृहमन्त्रीको कानमा पुर्याइदिनुहोला,’ पोखरेलले भनिन् ।