२२ जेठ २०८३, शुक्रबार

एक लाख बढीले अवलोकन गरे महोत्सव

एक लाख बढीले अवलोकन गरे महोत्सव

नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १४ औँ चितवन महोत्सव पाँचौँ दिनसम्म आइपुग्दा एक लाख बढीले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं टिकट व्यवस्थापन समिति संयोजक राजन पियाले  शुक्रबारसम्म एक लाख पाँच हजार व्यक्तिले महोत्सव अवलोकन गरेको बताए । 

पियाकाअनुसार शुक्रबार मात्रै ३० हजारभन्दा बढी व्यक्तिले महोत्सव अवलोकन गरेका छन् । चितवन महोत्सवमा अवलोकनकर्ताहरु बढ्दै गएको भन्दै पियाले आज शनिबार ५० हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने दाबी गरे । चितवन महोत्सव अवलोकनका लागि विद्यार्थी र सर्वसाधारणलाई फरक फरक टिकटको व्यवस्था गरिएको छ । पियाले अनलाइनबाट समेत टिकट काटेर महोत्सव प्रवेश गर्न सकिने जानकारी दिए । 

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदैआएको महोत्सवमा यस पटक मौरी र तोरी खेतीको प्रवर्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । चितवनमा तोरी खेतीतर्फ कृषकलाई आकर्षित गर्नेगरी तोरीको जानकारीसहित चितवन महोत्सव प्रवेशद्वारासँगै तोरीबारी निर्माण गरेर त्यहाँ मौरीको मस्कट राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । 

त्यस्तै महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको श्रेष्ठले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको श्रेष्ठको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए । महोत्सवमा ४५० वटा स्टल रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्