
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिक स्थायित्वका लागि भरपर्दो राजनीतिक एलायन्स वा प्रणालीमा पुनर्विचार गर्नुपर्ने बेला भएको बताएका छन् ।
पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष विषयक पुस्तक विमोचनको छलफल कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन् ।
‘पञ्चायतदेखि यता २२ वटा सरकार फेरिनुले राजनीतिक अस्थिरता दीर्घरोगको रुपमा रहेको देखाउँछ । यसलाई हामीले गहिराइका साथ हेर्नुपर्छ । सामान्य अवस्थामा प्रतिनिधिसभाले पूर्ण कार्यकाल बिताओस् भन्ने सोच्यौं । संविधान बनाउँदा यो परिकल्पना पनि गर्यौं । राजनीतिक स्थायित्वको स्रोत प्रतिनिधिसभाको फुलटर्मले आफैं राजनीतिक स्थायित्व दिन्छ कि दिँदैन ? पाँच वर्ष चल्नु नै राजनीतिक स्थिरता हो कि होइन ? यो छलफलको विषय भएको छ’, ज्ञवालीले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा १६५ र ११० सदस्य छ । तर यसको अभ्यासमा हामीले भरपर्दो एलान्स वा प्रणालीमा पुनर्विचार गरेर जाँदा राजनीतिक स्थायित्व कायम गर्न सक्छ कि भन्नेतिर जानुपर्ने हुन सक्छ ।’
सरकार र व्यवस्था चलाउन नसक्ने तर ऐना पुछेको पुछ्यै कहिलेसम्म गर्ने भन्दै उनले भने, 'समस्या नयाँ ढंगले हेर्ने हो भने टिकाउ एलान्सले यसको ग्यारेन्टी गर्ने गर्छ । निर्वाचनमा एलायन्स बन्छ कायर्कर्ताले भोट हाल्छन् । तर काठमाडौं नआउँदा अलायन्स भत्किन्छ भने यस्तोमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? यसको समाधानको लागि प्राज्ञिक खोजी गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
नागरिकले परिवर्तनको बोध नगरेसम्म, आफ्नो दैनिकी र व्यवहारसँग राज्य कसरी जोडियो र परिवर्तनको अनुभूति नगराएसम्म राजनीतिक स्थायित्व दिन नसक्ने उनले बताए ।