
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशा-अपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचनका क्रममा उनले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए।
'अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु । बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ', उनले भने।
करिब ४० वर्षअघि प्रचण्डले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गरेका थिए।
प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उहाँले झण्डै सिङ्गै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए।
'असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ । प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु । मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो ।'