पूर्वमन्त्री तथा राप्रपाको निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दुई उपप्रधानमन्त्रीको काम कारबाहीबारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबारे टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा सेलिब्रेटी हुने लोभमा धेरै लाग्नु भनेको आफूलाई हल्का बनाउनु भएको टिप्पणी गर्दै लोहनीले दीर्घकालीन सोच राखेर काम गर्न सुझाव दिएका छन् । ‘मन्त्रीहरू नारायणकाजी र रवि लामिछाने कर्मचारीलाई आदेश दिन निकै सक्रिय देखिनु भएकोछ। काम गर्छु भन्ने जोस राम्रो हो’, उनको भनाइ छ ।
तर सुधार गर्ने हो भने सडकको पिच उप्काएर र ठेकेदारलाई गाली गरेर नहुने भन्दै उनले भविष्यमा यस्तो काम् नहुने विधि, प्रावधान, संरचना र सो अनुकूल राजनैतिक मूल्य मान्यता कायम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
‘भविष्यमा यस्तो काम नहुने विधि, प्रावधान, संरचना र सो अनुकूल राजनैतिक मूल्य र मान्यता किन कायम गर्न सकिएन ? यसमा को बाधक रह्यो ?कसरी अब कायम गर्ने ? यस्ता प्रश्नहरूमा मन्त्रीजीहरूको दृष्टि जानु पर्यो,’ लोहनीको भनाइ छ ।