
नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवर्धनका लागि साइकल र्याली आयोजना गरिएको छ । शनिबार बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट शुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मेघौलीसम्म पुगेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार र्यालीमा विभिन्न सामाजिक संघ संस्था, उद्योग वाणिज्य संघ चितवनका सदस्यहरुको सहभागिता थियो । र्यालीमा सहभागी भएकाहरु भरतपुर –१६ मा निर्माण भएको क्रुजसिपमा समेत पुगेका थिए । चितवनको पर्यटन प्रवर्धनमा क्रुजसिप सञ्चालन भएपछि महत्वपूर्ण टेवा पुग्ने भन्दै क्रुजसिपको अवलोकन तथा क्रुजसिपको यात्रा भएको केसीले जानकारी दिए ।
यसैबीच, बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको अवलोकन गरेका छन् । महोत्सव अवलोकन गर्दै थपलियाले चितवन महोत्सवले जिल्लाको समग्र आर्थिक व्यवस्था चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महोत्सव प्रवर्धन समितिका संयोजक राजेन्द्र ओलीले महोत्सव अन्तर्गत माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषिसम्बन्धि गोष्ठी हुने जानकारी दिए । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए ।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५० वटा स्टल रहेका छन् । सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार लोक तथा दोहोरी गायक प्रजापति पराजुली, जादुगर बलराम सरकार, गायक भुवन प्यासी, हास्य कलाकार एवं जादुगर दीपक थापा मगर लगायतको प्रस्तुती रहेको थियो ।