२४ जेठ २०८३, आइतबार

महोत्सव प्रचारका लागि साइकल र्‍याली

महोत्सव प्रचारका लागि साइकल र्‍याली

नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवर्धनका लागि साइकल  र्‍याली आयोजना गरिएको छ । शनिबार बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट शुरु भएको र्‍याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मेघौलीसम्म पुगेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । 

उनका अनुसार र्‍यालीमा विभिन्न सामाजिक संघ संस्था, उद्योग वाणिज्य संघ चितवनका सदस्यहरुको सहभागिता थियो । र्‍यालीमा सहभागी भएकाहरु भरतपुर –१६ मा निर्माण भएको क्रुजसिपमा समेत पुगेका थिए । चितवनको पर्यटन प्रवर्धनमा क्रुजसिप सञ्चालन भएपछि महत्वपूर्ण टेवा पुग्ने भन्दै क्रुजसिपको अवलोकन तथा क्रुजसिपको यात्रा भएको केसीले जानकारी दिए । 

यसैबीच, बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको अवलोकन गरेका छन् । महोत्सव अवलोकन गर्दै थपलियाले चितवन महोत्सवले जिल्लाको समग्र आर्थिक व्यवस्था चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । 

महोत्सव प्रवर्धन समितिका संयोजक राजेन्द्र ओलीले महोत्सव अन्तर्गत माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषिसम्बन्धि गोष्ठी हुने जानकारी दिए । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । 

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५० वटा स्टल रहेका छन् । सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । 

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार लोक तथा दोहोरी गायक प्रजापति पराजुली, जादुगर बलराम सरकार, गायक भुवन प्यासी, हास्य कलाकार एवं जादुगर दीपक थापा मगर लगायतको प्रस्तुती रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्