
एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा जारी खेलमा ओमानले नेपालसामु ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटियो । ओमानका लागि कप्तान सुफियान महमुदले सर्वाधिक ३८ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । जुबैर अली अकबरले २२ तथा अब्दुलजलिल खानले १६ रन जोडे ।
नेपालका बलरहरू सामु ओमानका अधिकांश ब्याटर टिक्न सकेनन् । मोहम्मद अली अकबरले ९ रन बनाउँदा अन्य चार ब्याटर शून्यमै पेभिलियन फर्किएका थिए ।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी र कुशल मल्लाले १–१ विकेट लिए भने शाहब आलमले पनि १ विकेट झारे ।
नेपालले शुरूआतमै ओमानमाथि दबाब बनाएको थियो । करण केसीले दुई तथा सोमपाल कामीले दुई विकेट लिएपछि ओमान १० रन नपुग्दै चार विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
त्यसपछि कप्तान सुफियान महमुद र जुबैर अली अकबरले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी गर्न सकेनन् ।
जवाफमा नेपालले ९५ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक शुरूआत गरेको छ । अहिले ब्याटिङ गरिरहेको नेपालले १.४ ओभरमा १ विकेटको क्षतिमा २७ रन बनाएर खेलिरहेको छ ।