
कर्णाली प्रदेशसभाको सभामुख पदमा नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित भएकी छन् ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा सत्तारुढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
गुरुङलाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसदहरू मत विभाजन प्रक्रियामा सहभागी भएका थिए ।
सभामुखको रुपमा बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्ट र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।
प्रदेशसभा सदस्य गुरुङलाई कर्णाली प्रदेशसभाको सभामुख पदमा निर्वाचन गरियोस् भन्ने एमालेका यामलाल कँडेलको प्रस्तावमा माओवादी केन्द्रका नेता राजकुमार शर्माले समर्थन गरेका थिए । प्रदेशसभाका बहुमत सदस्यको मत परेकाले ज्येष्ठ सदस्य विष्टले गुरुङलाई प्रदेशसभाको सभामुख पदमा निर्वाचित भएको घोषणा गरेका थिए ।
नेपाली कांग्रेसले खड्गबहादुर पोखरेललाई सभामुखको रुपमा अघि सारेको थियो । पोखरेललाई कांग्रेसका १३ र नेकपा (एकीकृत समाजवादी) १ गरी १४ सांसदले मतदान गरेका थिए । पोखरेललाई सभामुख पदमा निर्वाचित भएको प्रस्ताव अस्वीकृत भएको थियो । उनलाई कांग्रेसका सांसद पूर्णबहादुर खत्री प्रस्ताव र विजया बुढाले समर्थन गरेका थिए ।
एमालेकी प्रदेश कमिटी सदस्य गुरुङ सुर्खेत वीरेन्द्रनगर २ निवासी हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी हुन् । प्रदेशसभामा महिला सभामुख निर्वाचित हुने उनी पहिलो हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा सात वटै प्रदेशमा पुरुष सभामुख थिए ।