
राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा निधन भएकाहरूको परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्नेबारे छलफल गरेको छ ।
आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपपछि मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सबै सरोकारवालाहरूले पीडित परिवारलाई सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको छ ।
बैठकपछि गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मृतकका परिवारलाई, विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावासलाई र सञ्चारकर्मी साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने विषयमा गृहमन्त्री लामिछानेले निर्देशन दिएका बताए।
उनले गृहमन्त्री लामिछानेले सरोकारवाला निकायहरूलाई पोष्टमार्टम, बीमाका प्रावधान आदिमा सहजिकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायत चरणहरूमा आवश्यक काउन्सिलिङलगायत सहजीकरण गर्न निर्देशन दिएका पनि बताए।
बैठक भोलि (सोमवार) पुनः बस्नेछ ।