
गोरखा जिल्लाको माछा खोलामा निर्मित विकास हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभामा अहिलेसम्मको आयव्यय विवरण पेस भएको छ । विकास हाइड्रो पावरले अबको केही दिनमा नै आफ्नो उत्पादन सुरु गर्ने हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको हाइड्रोमा गैर आवासीय नेपालीहरूको लगानी रहेको एनआरएनए आइसिसीका सचिव एवं हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । साधारण सभामा विकास हाइड्रो पावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले स्वागत मन्तव्य गर्दै हालसम्म साथ दिने र उपस्थित सबै सेयर सदस्यलाई धन्यवाद व्यक्त गरे । उक्त हाइड्रोको अध्यक्षमा न्यौपाने,प्रबन्ध निर्देशकमा घिमिरे र निर्देशकहरूमा सरोज धिताल,जोन घले , इन्द्र बहादुर ढकाल,सुनिल श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रममा सञ्चालक समितिले हाइड्रोका विविध विषयमा प्रकाश पारेका थिए । उक्त हाइड्रो ४.५५ मेगावाटको रहेको छ । उक्त हाइड्रो सम्पन्न गरेसँगै अर्को हाइड्रो पनि निर्माण सुरु गरिने सञ्चालकहरूले बताए ।
उक्त कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको आ. ब. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ अषाढ मसान्तको वासलात, २०७८ श्रावण १ गते देखि २०७९ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरिएको थियो । यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरिक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिकसमेत तोकिएको छ भने आ.व. ०७८ / ०७९ को हालसम्मको कार्य प्रगति प्रतिवेदन सम्बन्धमा पनि छलफल गरिएको थियो । उक्त साधारण सभाले खरिद सम्झौताहरूलाई अनुमोदन समेत गरेको छ ।