
नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले शनिबार र आइतबार गरी दुई दिन मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सवको उदघाटन गर्ने कार्यक्रम तय भए पनि पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारको तर्फबाट उद्धार लगायतको व्यवस्थापनमा सरकारले निर्णय गर्नुभएपछि उनी महोत्सवमा आउन सकेनन् ।
विमान दुर्घटनाले देश नै शोकमय भएका बेला थारु माघी महोत्सवको औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटनाप्रति दुःख व्यक्त गरेका थिए । माघ १ गते थारू समुदायको खुशीयालीको दिन हो । काम विशेषले जिल्लामा जान नपाएका थारुहरु एकै थलोमा जम्मा भएर हरेक वर्ष काठमाडौंमा माघी महोत्सव मनाउने गर्छन् । यसअघि कोभिडका कारण दुई वर्ष काठमाडौंमा महोत्सव हुन पाएको थिएन ।
विहान १० बजे बसन्तपुर प्राङ्गणबाट नृत्यसहितको झाँकी प्रदर्शन गरेका थारु प्रतिनिधिहरुले न्यूरोड, रत्नपार्क, शहिदगेट हुँदै टुँडीखेलमा भेला भएका थिए । महोत्सवमा करिब एक सय वटा स्टल राखिएको आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताए ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदाय पहिचानको लडाईमा रहेकाले राज्यसँग संघर्ष जारी रहेको बताए । थारु आयोगको तर्फबाट थारु अधिकार सुनिश्चित्ताको पहल निरन्तर भइरहेको उनले दावी गरे । टीकापुर घटनामा आरोपित निर्दोस थारुलाई तत्काल रिहाइको माग उनले गरे ।
माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले टीकापुर घटनाका आरोपीहरुलाई विना शर्त रिहाइ गर्न माग गरे । थारु प्रतिनिधिहरुलाई विभिन्न बहानामा फँसाइएको भन्दै उनले निर्दोस रहेका थारुलाई रिहाइमा सरकार गम्भीर बन्नुपर्ने बताए । माघी महोत्सव एउटा शान्तिपूर्ण दवावको कार्यक्रम रहेको भन्दै उनले संस्कृति संरक्षण सँगै अधिकार सम्बोधनको खवरदारी महोत्सव भएको बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) का उपाध्यक्ष कन्नुलाल चौधरी, आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थाकसका उपमहामन्त्री मिनराज चौधरी, युवा नेता सिताराम चौधरी, अधिवक्ता बुद्धसेन चौधरी, थारु पत्रकार संघ, नेपालका उपाध्यक्ष सहदेव चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु महिला सभाकी अध्यक्ष भगवती चौधरी लगायतले माघी पर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुस ३० गतेदेखि शुरुभएको माघी महोत्सवको पहिलो दिन जिता मार्ने कार्यक्रम, रक्तदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको महोत्सवका सदस्य सचिव कानुनलाल चौधरीले बताए । कार्यक्रममा विभिन्न थारु नृत्य समेत प्रस्तुत गरिएको थियो ।