
नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । दुर्घटनामा परी संघका आजीवन सदस्य डा.सुशील श्रेष्ठ, डा. शोना दिवाकर, उनीहरुका दश महिने शिशु, डा. गणेश थापाको निधन भएको थियो ।
उनीहरुको निधनले नेपालले चिकित्सा क्षेत्रको उज्ज्वल नक्षत्र गुमाएको संघले बताएको छ । चालक दलका सदस्यसहित ७२ जनाको दुःखद निधनले मुलुक स्तब्ध भएको र नेपाली चिकित्सा क्षेत्रमा पनि अपूरणीय क्षति भएको संघले जनाएको छ ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् ।”