
आज सोमबार मनाउने तयारी गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस स्थगित गरिएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक बिदा दिएकाले कार्यक्रम स्थगित गरिएको गृहमन्त्रालयले जनाएको छ ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको सम्झनामा हरेक वर्ष देशभर माघ २ गते कार्यक्रम आयोजना गरिदैआएको थियो । २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी सरकारले गरे पनि दुखद घटनाले दिवस यो वर्ष स्थगित गरिएको हो ।
सरकारले राष्ट्रिय शोक घोषणा गरी आज सोमबार बिदा दिएको छ । विमान दुर्घटनाले मुलुक शोकमय भएका कारण आजको कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिका सदस्यसचिव तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी गरिएको थियो । वि.स. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको थियो ।
दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको थियो । सरकारले कार्यक्रमका लागि निमन्त्रणापत्र पनि वितरण गरिसकेको थियो । भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गर्ने तयारी गरिएको थियो । घटनाले सोमबारको औपचारिक कार्यक्रम स्थगित भए पनि प्रदर्शनी मङ्गलबारदेखि गरिने श्रेष्ठले जनाए ।