
अध्यागमन विभागले ललितपुरको धोबीघाट र कीर्तिपुर–६, चोभारमा गरेको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।
धोबीघाटस्थित एक घरमा २२ जना चिनियाँ नागरिक फेला परेका थिए, जसमध्ये अधिकांश पर्यटक भिसामा नेपालमा बस्दै आएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू चोभारस्थित ट्रेजर्स प्रा.लि. र ड्रागन ब्रिज इन्टरनेशनल प्रा.लि.सँग आबद्ध भएर भिसाको उद्देश्यविपरीत काम गरिरहेको आशंका गरिएको छ ।
चोभारस्थित ट्रेजर्स प्रा.लि.मा गरिएको अनुगमनका क्रममा अत्यधिक सुरक्षा व्यवस्था, कर्मचारीको अभिलेख नदेखाइएको तथा झ्यालविहीन कोठामा लुकेर बसेका ७ चिनियाँ नागरिकमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको र २ जना फरार भएको विभागले जनाएको छ। केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको आशंकासमेत गरिएको छ ।
अध्यागमन विभागले दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको तथा भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक र सम्बन्धित व्यक्ति तथा संस्थामाथि कानूनअनुसार कारबाही गरिने जनाएको छ ।