
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई १०० शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ ।
१५ शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै १०० शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा १०० शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन १०० शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए । त्यसका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको चुमानले उल्लेख गरे ।
‘१५ शय्याको अस्पताल हामी आफैं चलाइरहेका छौं, १०० शय्याको अस्पताल प्रदेश र संघीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौं,’ चुमानले भने, ‘त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । ‘३ वटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौं,’ चुमानले भने ।
गाउँपालिकाले मंसिर १ गतेदेखि आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई सेवा विस्तार गरी अस्पतालमा रूपान्तरण गरिसकेको छ । स्वास्थ्य चौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए ।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसीलगायतका सेवा शुरू गरिएको छ । अस्पतालमा १ जना एमडीजीपी र २ जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ ।