
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये एक जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । सोमबार गण्डकी अस्पतालमा पोस्टमार्टमपछि मृतक सदाकत अलिमियाको परिवारलाई शव जिम्मा लगाइएको हो ।
कास्कीका एसपी अजय केसीले अन्य शवको पनि पोष्टमार्टम भइरहेको बताए । विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भने भोलि हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ ।
दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।