
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा थपिने मन्त्रीहरुको नामावली मंगलबार मात्रै सार्वजनिक हुने भएको छ । सत्ता साझेदार दलहरुले बिहान आ–आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै नाम सार्वजनिक गर्न लागिएको हो ।
यद्यपि साझेदार दलले पाउने मन्त्रालय भागबन्डा भने प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले टुङ्गो लगाइसकेको छ । बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
‘कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर भोलि आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ’, बैठकपछि उनले भने । उनका अनुसार नयाँ मन्त्रीहरुको शपथ मंगलबार दिउँसो १ बजेका लागि राखिएको छ ।