३१ जेठ २०८३, आइतबार

हत्या भएको २१ वर्षमा पनि मुक्तिनाथले पाएनन् न्याय

हत्या भएको २१ वर्षमा पनि मुक्तिनाथले पाएनन् न्याय

२०६३ साल मङ्सिर ५ मा विस्तृत शान्ति प्रक्रिया शुरू भएयता नेपालमा चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका छन् । तर अहिलेसम्म मुक्तिनाथ अधिकारीले न्याय पाएका छैनन् । सत्य र न्यायको कुनै पनि सङ्केतबिना स्वर्गीय मुक्तिनाथ अधिकारीका परिवारका सदस्य र आफन्तले उनको हत्याको २१ औँ स्मृति दिवस मनाएका छन् । 

तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूले चन्दा दिन इन्कार गरेको भन्ने आरोपमा २०५८ माघ ३ गते लमजुङमा अधिकारीको निर्ममतापूर्वक हत्या गरेका थिए। उनलाई माओवादीका कार्यकर्ताहरूको एक समूहले कक्षा कोठाबाट आँखामा पट्टी बाँधेर अपहरण गरी नजिकैको थुम्कोमा लगेर रूखमा बाँधी छुरा रोप्दै टाउकोमा गोली प्रहार गरेर हत्या गरेका थिए। उनी दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक एवं लमजुङस्थित एम्नेस्टी इन्टरनेसनल नेपालको स्थानीय समूहका संयोजक थिए।  

त्यसयता अधिकारी परिवारले न्यायका लागि नेपालमा उपलब्ध सबै ढोकाहरू ढक्ढक्याए । तर परिणाम हात पार्न सकेनन् । नियमित न्यायिक संयन्त्रका रूपमा रहेको प्रहरी प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग र संक्रमणकालीन न्याय निरुपणका लागि गठित संयन्त्र सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गरिएको उजुरीहरूमाथि कुनै कारबाही नहुँदा परिवारका सदस्यलाई पीडा भएको छ।

“सत्य निरुपण तथा मेलमिलाप आयोग (सत्य आयोग) र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (बेपत्ता आयोग) सम्बन्धी कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सात वर्षसम्म बेवास्ता गरिनु र यी आयोगमा दुई दुई पटक आयुक्तहरू नियुक्त भई ६ वर्षभन्दा बढी समय कार्य गर्दा समेत एउटा पनि घटनामा सत्य र न्याय निरूपण नहुनु साह्रै खेदजनक छ”  मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले भने,  “पीडितहरू वर्षौंसम्म पनि सत्य, न्याय र परिपूरणबिना तड्पिरहनु लाजमर्दो कुरा हो।”

फरक विचार व्यक्त गर्ने तर कुरै नगरौँ स्वतन्त्र रूपमा बोल्न समेत कठिन त्यस समयमा मुक्तिनाथ अधिकारी अन्याय र हिंसाका विरुद्ध खडा भएका थिए । उनले आफ्ना विद्यार्थीको मस्तिष्कमा मानवअधिकारका मूल्यहरूलाई जगाउने काम समेत गरेका थिए । “स्वर्गीय अधिकारी नेपालको एम्नेस्टी अभियानका एक सक्रिय र महत्त्वपूर्ण सदस्य थिए । हामी उनको हत्याको भत्सर्ना मात्र नगरी उनको हत्यालाई मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कर्ममाथि भएको एउटा निर्मम र घृणित आक्रमणको रूप लिइरहनेछौँ,” एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, “आजभन्दा २१ वर्षअघि स्वर्गीय अधिकारीको निर्मम हत्यामा शोक व्यक्त गरिरहँदा कुनै पनि खाले हिंसा र अन्यायविरुद्ध खडा भएर आवाज उठाउने हाम्रो सङ्कल्प झन् बढी दृढ भएको छ।”

मुक्तिनाथ अधिकारीको निर्मम हत्या द्वन्द्वका क्रममा राज्य र विद्रोही समूह दुवै पक्षहरूले गरेका हजारौं मानवअधिकार उल्लङ्घनका  घटनाहरूमध्येको एक प्रतिनिधिमूलक घटना हो। द्वन्द्व अन्त्य भएको १७ वर्ष बितिसक्दा पनि अलपत्र परेको सत्य, न्याय र परिपूरणको मुद्दाको शीघ्र समाधानका लागि पीडित र अधिकारकर्मीहरूले लामो समयदेखि निरन्तर आह्वान गर्दैआएका छन्।

सम्मानमा स्मृति सभा आज 

मुक्तिनाथ अधिकारीको हत्या भएको २१ औँ वार्षिक स्मृति दिवसका सन्दर्भमा स्वर्गीय मुक्तिनाथ अधिकारीको सम्मानमा मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपाल दुई संस्थाले आज मंगलबार काठमाडौँको अल्फाबिटा कम्प्लेक्समा स्मृतिसभा कार्यक्रम आयोजना गर्दैछन्।

स्मृति कार्यक्रममा अधिकारी परिवारका सदस्य, आफन्तजन, अधिकारकर्मी, नवनिर्वाचित सांसद तथा विभिन्न दलका राजनीतिक नेता, पत्रकार तथा नागरिक समाजका सदस्यहरूको उपस्थिति रहने बताइएको छ। स्वर्गीय अधिकारीले समाजसेवा र मानवअधिकार अभियानमा गरेको योगदानको सम्झनामा उनलाई श्रद्धाञ्जली अर्पण गरिने छ। दशकौंदेखि उपेक्षित द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार, नयाँ संसद्को भूमिका र जिम्मेवारीू शीर्षकमा अन्तरक्रियात्मक छलफल आयोजना हुने आयोजकले बताएको छ। जसमा प्रतिनिधि सभाका सदस्यहरू गगनकुमार थापा, रघुजी पन्त, सन्तोष परियार, मैना कार्की लगायतले सङ्क्रमणकालीन न्यायको मुद्दालाई कसरी अघि बढाउने भन्ने सवालमा आफ्नो प्रतिबद्धता जनाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्