
आज मंगलबार पल शाहविरुद्धको मुद्दामाथि सुनुवाइ हुने भएको छ । तनहुँ जिल्ला अदालतमा मुद्दाबारे सुनुवाइ हुनेछ । यसअघि धेरै पटक पेशी तोकेर मुद्दा सुनुवाइ स्थगित हुँदैआएको थियो । कलाकार शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसलाबारेमा अध्ययन भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।
नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा अधाई वर्ष कैद सजाय तोकेको थियो । आज हुने तनहुँ अदालतको फैसलाले पनि कैदबारे सजाय तोक्न सक्ने अनुमान गरिएको छ ।
नवलपुर अदालतमा चलेको मुद्दाको फैसलाबारे प्रमाणित कपी उपलब्ध गराउन माग गरिएको शाहको पक्षमा बहस गर्दैआएका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले बताए । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यले पनि नवलपुर अदालतको फैसलाको माग गरेका छन् ।
नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते पक्राउ परेका थिए ।