
२८५९ औं सोनाम ल्होछारको अवसर पारेर धरान उपमहानगरपालिका वडा ४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्धमूर्ति प्रतिष्ठापन र गुम्बा निर्माण गरिएको छ । तामाङहरुको मात्र बस्ती रहेको शेर्गेमा पहिलो पटक बुद्धमूर्ति प्रतिष्ठापन र ट्रष्टको गुम्वा निर्माण गरिएको हो ।
नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा सम्पन्न भएको बुद्धमूर्ति निर्माण, प्रतिष्ठापन र गुम्बा निर्माण कार्यको उदघाटन नेपाल तामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।
२८५९ औं सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा बुद्धमूर्ति प्रतिष्ठापन समारोहको आयोजना गरी गरिएको कार्यक्रममा प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान ४ का वडा सदस्य मिना घिसिङ तामाङ र जग्गादाता श्रमिान श्रीमती रामबहादुर घिसिङ र फुलमाया योञ्जन तामाङलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ र कार्यक्रम सयोजक सुजेन्द्र गोले तामाङले सम्मानपत्र र खदाले सम्मान गरेका थिए ।
कार्यक्रमका वीच टंक घिसिङको अध्यक्षतामा तामाङ नाम्सा शेर्गे गाउँ सुधार समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा ताराबहादुर घिसिङ, सचिवमा सुमन घिसिङ, कोषाध्यक्षमा फुलमाया योञ्जन सदस्यहरुमा रामबहादुर घिसिङ, मिठु घिसिङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ रहेका छन् ।्