
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सरकार गठन भएको २२ दिनपछि प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरू नियुक्त गरेकी हुन् ।
नवनियुक्त मन्त्रीहरू शीतल निवासमा एक समारोहका बीच मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रचण्डको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । यससँगै उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ ।
यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् ।
एमालेले विमला राई पौडेललाई परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य, हरि उप्रेतीलाई रक्षा, ज्वालाकुमारी साहलाई कृषि र दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएको छ ।
यसका अलावा एमालेबाट भगवती चौधरी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजीका अलावा रेखा शर्मा सूचना तथा सञ्चार, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
सत्ता गठबन्धनको तेस्रो दल रास्वपाबाट सभापति रवि लामिछानेका अलावा डीपी अर्याल श्रम तथा रोजगार र शिशिर खनाल शिक्षा मन्त्री बनेका छन् ।
रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ ।
यसैगरी राप्रपाबाट अध्यक्ष लिङ्देनका अलावा विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानून मन्त्री बनेका छन् ।
राप्रपाले कमल थापालाई पराजित गरी विजयी बनेका दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाएको छ ।
मन्त्री बनेकामध्ये विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, विक्रम पाण्डे र रेखा शर्माबाहेक अधिकांश नयाँ अनुहार हुन् ।
दामोदर भण्डारीचाहिँ यसअघि राज्यमन्त्री बनेका थिए । ज्वाला साह १३ दिनका लागि मन्त्री बनेकी थिइन् ।