विगत ६ दशकमा पहिलोपटक चीनको जनसंख्या घटेको आधिकारिक आँकडा मंगलवार सार्वजनिक भएको छ ।
यसले चीनमा जानसांख्यिक संकट आउन लागेको संकेत दिएको छ ।
एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा काम गर्न सक्ने उमेरका व्यक्ति बूढो हुँदै जाँदा जन्मदर चाहिँ कीर्तिमान घटेको छ । यसले आर्थिक वृद्धिलाई संकुचित बनाउने र सार्वजनिक कोषमा थप दबाब दिने भन्दै विश्लेषकहरूले चेतावनी दिएका छन् ।
सन् २०२२ को अन्त्यसम्ममा मुख्यभूमि चीनको जनसंख्या १ अर्ब ४१ करोड १७ लाख ५० हजार रहेको देशको तथ्यांक विभागले प्रतिवेदन दिएको छ । अघिल्लो वर्षको तुलनामा त्यो ८ लाख ५० हजारको कमी हो ।
सन् २०२२ मा ९५ लाख ६० हजार शिशु जन्मेका थिए भने १ करोड ४ लाख मानिस मरेका थिए ।
सन् १९६० को दशकमा चीनको जनसंख्या घटेको थियो । माओ चतोङको महान् अग्रगामी छलाङ नीतिका कारण आएको भोकमरीले गर्दा धेरै मानिस मरेर जनसंख्या घटेको थियो ।
जनसंख्या नियन्त्रणबाहिर जाने डरका कारण चीनले सन् १९८० को दशकमा एक सन्तान नीति ल्याएको थियो । त्यसले जानसांख्यिक समस्या ल्याएपछि सन् २०१६ मा दुई सन्तान र सन् २०२१ मा तीन सन्तान जन्माउन दम्पतीहरूलाई अनुमति दिइएको थियो ।
तर त्यस परिवर्तनले पनि जानसांख्यिक कमीलाई सुधार गर्न सकेको छैन । आर्थिक वृद्धिका लागि आवश्यक विशाल कामदार संख्यामा निर्भर रहेको चीनलाई यसले चिन्ता दिलाएको छ ।