०८ असार २०८३, सोमबार
सर्वदलीय बैठक

सभामुख निर्वाचनबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

सभामुख निर्वाचनबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि २६ पुसमा आफूलाई विश्वासको मत दिएको भन्दै सभामुख र राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले विश्वासको मत दिने दलबीचको छलफल बोलाएका हुन् । 

५ माघमा सभामुखको चुनाव गर्ने कार्यतालिका छ । सभामुखको निर्वाचनको लागि बुधबार दिउसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यतालिका छ । 

विश्वासको मत दिने कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई छलफलमा बोलाएका हुन् । 

सर्वदलीय बैठकमा यी पार्टीका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी छन् । 

राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी बाहेकका पार्टीले विश्वासको मत दिएपछि सभामुख र राष्ट्रपतिको निर्वाचनमा फरक परिस्थिति बन्न सक्ने पर्खाइमा प्रमुख प्रतिपक्षी कांग्रेस छ । 

धेरै दलकाे विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिको चुनावमा फरक माहोल बनेको भन्दै छलफल गरेर जाने बताएपछि कांग्रेस आशावादी बनेको छ । सत्ता गठबन्धनको सहमतिमा सभामुख एमालेले पाउने भन्नेछ । कांग्रेसले सभामुखमा केही आशा गरेकाे छैन । तर राष्ट्रपतिको चुनावसम्म आइपुग्दा माओवादीले पनि समर्थन गर्न सक्ने विश्वास लिएको छ । 

केन्द्र र प्रदेशमा एमाले, माओवादी, रास्वपा, राप्रपाको बलियो गठबन्धन बनेको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा पनि यी दलबीच सम्मानजनक शक्ति बाँडफाँट भएकाे छ । यस्तोमा कम्तिमा यी दल राष्ट्रपतिको चुनावमा विभाजित हुने अवस्थामा देखिएका छैनन् । तर कांग्रेसले राष्ट्रपतिको उम्मेदवारले पनि परिस्थिति बदल्न सक्ने भन्दै दलसँग संवाद गरेर आफ्नो पक्षमा माहोल बनाउने तयारी गरेको छ । 

२८ माघसम्म राष्ट्रपतिको चुनाव भइसक्नुपर्नेछ । प्रतिनिधिसभाका २७५, राष्ट्रिय सभाका ५८, प्रदेशसभाका ५५० सदस्यको मतभारमा राष्ट्रपतिको चुनाव हुन्छ । राष्ट्रपतिमा जित्न २६ हजार ३ सय मत कटाउनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्