
नाबालिका बलात्कारको अभियोगमा अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी तत्काल जेलमुक्त हुने छैनन् ।
मंगलवार तनहुँका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी तत्काल जेलमुक्त हुने छैनन् ।
बलात्कारको अभियोगमा जिल्ला अदालत नवलपुर र तनहुँमा शाहविरुद्ध मुद्दा चलेको थियो । नवलपुर अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
सोही कारण नवलपुर अदालतले तोकेको सजाय काटेपछि मात्र शाह जेलमुक्त हुनेछन् ।
अधिवक्ता मुरारी सापकोटाका अनुसार नवलपुर अदालतबाट भएको फैसला भुक्तान गरेपछि मात्र शाह जेलमुक्त हुनेछन् । शाह करीब १० महिनायता थुनामा छन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।
'तनहुँमा मात्रै मुद्दा हुन्थ्यो भने पल शाह थुनामुक्त हुन्थे । तर नवलपुर जिल्ला अदालतले नाबालिगको मुद्दामा साढे दुई वर्ष थुनामा राख्ने भनेको छ । नवलपुरको मुद्दाविरुद्ध पल शाह उच्च अदालत पोखरामा पुगेका छन् । यो मुद्दा मुद्दा विचाराधीन छ । यसको अन्तिम फैसला आएर नवलपुरको मुद्दामा सफाइ पाएपछि वा ताेकेकाे सजायँ भाेगेपछि मात्रै पल जेलमुक्त हुनेछन् ।' अर्का एक वकिलले भने ।