
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको प्राविधिक पक्षबारे जानकारी लिएका छन् ।
बिहीबार सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरे।
उनले बैठक सञ्चालनको प्राविधिक पक्ष, संसदीय अभ्यास र परम्पराबारे जानकारी लिए। घिमिरेलाई बैठक सञ्चालनसम्बन्धी आवश्यक कामकाजबारे संसदका कर्मचारीले जानकारी दिएका थिए।
घिमिरेलाई संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद गौतम लगायतले बैठक सञ्चालनको प्राविधिक पक्ष, संसदीय अभ्यास र परम्पराबारेमा जानकारी गराएका संसद सचिवालयले जानकारी दिएको छ ।
सत्ता गठबन्धनबाट एमालेका घिमिरे बिहीबार कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए । घिमिरे ४ मंसिरको चुनावमा झापा २ बाट निर्वाचित भएका थिए ।