सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।
स्थानीय भैरम सामुदायिक वनमा पर्ने शहीद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।
सामुदायिक वन उपभोक्ता समूहको शुक्रवार सम्पन्न २३औं वार्षिक साधारण सभामार्फत संस्थाका अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिएको बताए ।
उनले भने, ‘आगामी आर्थिक वर्षमा सामुदायिक वनले शहीद पार्कमा गुरुयोजनाअनुसार झरना, मचान, ट्रि हाउस लगायतका संरचना निर्माण गर्नेछ । यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाउनेछ ।’
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक शहीद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिए ।
उनले सहीद पार्कभित्र गुरुयोजना विपरीतका कुनै पनि काम नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोहीअनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरू निर्माण गर्न सकिए त्यसले पर्यटकलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाइ थियो ।
वीरेन्द्रनगरका पूर्व प्रमुख देवकुमार सुवेदीले सामुदायिक वन अध्ययन केन्द्रको रूपमा पनि विकास गर्न सल्लाह दिए । वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजना ल्याउन वन समूहलाई आग्रह गर्दै उनले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिए ।