
इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेभएको छ । इटहरीको जनता पार्कमा शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
यस्तै अर्को खेलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । यससँगै विभागीय टोली एपीएफ पहिलो पटक प्रधानमन्त्री कपको सेमिफाइनलबाट बाहिरिएको छ ।
जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाउने क्रममा सुदूरपश्चिम प्रदेशले शुक्रवार मधेस प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ६६ रन जोड्न सक्यो ।
मधेसका लागि ओपनर एलिसा यादव, सीमा कुँवर र प्रतिमा साहले दोहोरो अंकको स्कोर गर्नु बाहेक अन्यले राम्रो स्कोर छुन सकेनन् । प्रतिमाले सर्वाधिक १९ रन जोड्दा, सीमाले १६ र एलिसाले १४ रन जोडेका हुन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका मनिष चौधरी र रितु कोनुजियाले समान २÷२ विकेट निकाल्दा कविता कुँवर र स्नेहा महराले १÷१ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै २० ओभरमा दुई विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनरद्वय विन्दु रावल र कविता कुँवरले अर्धशतकीय पारी खेले । कविताले ५४ बलमा १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाउँदा अविजित रहेकी विन्दुले ५२ बलमा (चौका मद्दतमा अविजित ६) र कविता जोशीले १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडिन् । विन्दुले पहिलो विकेटका लागि कविता कुँवरसँग १ सय २८ तथा दोस्रो विकेका लागि कविता जोशीसँग ५२ रनको साझेदारी गरेकी थिइन् । दुई विकेट निकाल्ने क्रममा मधेसका लागि भूमि सिंह र सान प्रविनले समान एक विकेट लिए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।