
काठमाडौंको नागार्जुन नगरपालिका –७ बस्ने ५० वर्षीया बिमली तामाङ आफ्नो घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सिप्रदीस्थित सडक छेउमा नाम, थर, वतन, खुल्न नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बोरीबोटे बस्ने ६० वर्षीय हस्तबहादुर तामाङ सोही ठाउँस्थित साम्दानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट हराई बेपत्ता भएको उनको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
सोहीअनुसार अर्घाखाँचीको भुमिकास्थान नगरपालिका –१० पाकुस्थित खोल्सामा सोही नगरपालिका–१० लामडाँडा बस्ने ६० वर्षीय ऋषिराम सारु शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१० चेतरादेहीस्थित नमस्ते पीपलधारा होटल नजिक नाम, थर, वतन, नखुलेका अन्दाजी ७० वर्षीय एक जना पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।