३१ जेठ २०८३, आइतबार

भारतबाट फर्केर शैलुन व्यवसायमा कुँवर दम्पती

भारतबाट फर्केर शैलुन व्यवसायमा कुँवर दम्पती
प्रतिकात्मक तस्वीर

गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आएका छन् । 

ईन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनि मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटीपार्लर सञ्चालन गरेका छन् ।

आजभन्दा ८ वर्ष अगाडिबाट औपचारिक रूपमा दर्ता गरेर कुँवर दम्पतीले आ–आफ्नो सीप र दक्षता अनुसारको शैलुन व्यवसाय शुरू गरेका हुन् । भारतमा कमाएर ल्याएको ३५ हजार रुपैयाँ लगानीमा व्यवासय शुरू गरेको इन्द्रबहादुरले बताए । रोजगारीको सिलसिलामा भारत गएका कुँवरले लामो समयसम्म भारतमै काम गरे ।

जागिर गरेर मात्र सन्तुष्ट नभएपछि कुँवरले भारतमै शैलुन सम्बन्धीका विभिन्न तालिम लिए । त्यसपछि आफूले कमाएको थोरै रकमले भए पनि आफैं व्यवसाय शुरू गर्ने भन्दै जन्मथलोमा फर्किए ।

यसमा इन्द्रबहादुर मात्र होइन, श्रीमती मोनिका पनि निरन्तरको सारथी बनिन् । दुवैको सहमतिमा शैलुन व्यवसाय खोलेका छन् ।

उमरेले ४७ वर्ष पुगेका इन्द्रबहादुर आफूले सञ्चालन गरेको शैलुन व्यवसायबाट निकै सन्तुष्ट छन् । शुरूमा सानोबाट लगानी गरेर अहिले उनले व्यवसायलाई बढाउँदै लैजानुका साथै आम्दानीलाई विभिन्न ठाउँमा लगानी गरेका छन् ।

आर्थिक अभावका कारण अध्ययनमा केही समस्या भएका कारण भारत छिरेका इन्द्रबहादुरले अहिले आफ्नो सीपका कारण कुनै पछुतो मान्नुपरेको छैन । ‘पढाइ, पैसा र कुनै सीप नहुँदा मलाई धेरै चिन्ता लाग्ने गर्दथ्यो,’ कपाल काट्दै इन्द्रबहादुरले भने, ‘भारतमा सिकेको सीपले आत्मनिर्भर मात्र नभई स्वाभिमानी समेत बनायो ।’

उनले कुनै न कुनै सीप हरेक व्यक्तिमा हुनुपर्ने र जसका कारण सजिलै आत्मनिर्भर बन्न सकिने बताए ।

आफूलाई सानैदेखि गाउँमा कपाल काट्नेमा निकै रुचि लाग्ने गरेको उनी सम्झन्छन् । आफ्नो रुचिलाई सीपमा बदल्दै आत्मनिर्भर गरेर मनग्ये आम्दानी गरिरहेका इन्द्रबहादुर रोजगारभन्दा व्यवसायले सन्तुष्ट मिल्ने गरेको बताउँछन् । सामान्य जीविकोपार्जनको लागि पनि परिवारबाट टाढा गएर काम गर्नुपर्ने बाध्यता भएको समयमा आफूले सिकेको सीपका कारण जन्मथलोमै बसेर आम्दानी गरिरहेको उनले सुनाए ।

इन्द्रसँगै श्रीमती मोनिकाले सोही ठाउँमै मोनिका ब्युटिपार्लर चलाएकी छन् । दुवैतर्फ सबै चाँजोपाँजो मिलाउने मोनिका पनि सीपले भरिपूर्ण छिन् । दुवै जनाको मेहनत र निरन्तर कर्मका कारण अहिलेसँगै बसेर व्यवसाय सञ्चालन गरी मनग्ये आम्दानी गर्दा मोनिका पनि सन्तुष्ट छिन् । महिलाले नेतृत्व गरेर आफैं खटिएर व्यवसाय सञ्चालन गर्दा सफल हुने भन्दै उनले महिला र पुरुष बराबर भएकोले दुवैले बराबर मेहनत गर्नुपर्ने बताइन् ।

३५ हजारबाट शुरू गरेको शैलुन व्यवसाय अहिले ३५ लाखभन्दा माथि पुगेको सञ्चालक इन्द्रबहादुरले बताए । पुरुष र महिला पार्लर दुवैमा गरेर मासिक १ लाख २० हजार रुपैयाँ बचत हुने गरेको उनीहरूको भनाइ छ । ‘दुवैतर्फ गरेर औसतमा ६०/६० हजार बचत गर्न सकिएको छ,’ उनी भन्छन्, ‘आत्मसन्तुष्टिको कुरामा केही कमी छैन, सीपले अवसर पाएको ठानेको छु ।’ सो शैलुनमा सेवा लिने जो कोही पनि सन्तुष्ट भएर फर्किने गरेका छन् । 

कुँवर दम्पतीले शैलुन व्यवसायबाट ५ जनालाई रोजगारी दिएका छन् । इन्द्रबहादुर स्थानीय पालिकाले दिने शैलुनका तालिममा पनि मुख्य प्रशिक्षक भएर पुगेका छन् । अहिलेसम्म १५० जनालाई सीप सिकाएको उनले बताए । इन्द्रबहादुर कुँवर नेपाल नाई संघ गुल्मीका उपाध्यक्ष समेत हुन् । शैलुन व्यवसाय गर्नेहरू संस्थागत रूपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि उनको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्