२२ जेठ २०८३, शुक्रबार

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताएका छन्। बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।

“चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उनले भने, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।”

प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । 

सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे ।
बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिँदै अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुलामञ्च खेलमैदान निर्माणलगायतका योजनामा प्रदेश सरकारले साथ दिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका धेरै योजना अधुरा, अलपत्र हुँदा नागरिकले सास्ती पाएको बताउँदै भूगोल र आवश्यकतालाई आधार मानेर बजेट, योजना र कार्यक्रम बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
    
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनै तीनै तहका सरकारको सक्रियता आवश्यक रहेको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्