०५ साउन २०८३, मंगलबार

बुर्तिबाङ नमुना शहरको काम सुस्त गतिमा

बुर्तिबाङ नमुना शहरको काम सुस्त गतिमा

साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना शहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना शुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ ।

हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन सकेका छैन । बजारलाई पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ शहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० शहरमध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विधुतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजार लगायत काम अझै हुन नसकेको स्थानीय प्रेमबहादुर विकले बताए ।  

बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला शहरमा जानेलाई रोक्न नयाँ शहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२÷७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको शहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र  पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताए । 

“बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन”, उनले भने, “चार वटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।” आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा रु १५ करोड ६० लाख विनियोजन भएको अधिकारीले बताए । भब्रेटामा सभाहलको काम शुरु भएको छ । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ । हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुनसकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्