
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विशेष आग्रहमा खानेपानी मन्त्री अब्दुल खानले आज साढे १ बजे पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्टि जनाउँदै पदभार ग्रहण नगर्ने अडान लिएका खान अन्तत: मन्त्रालय जान तयार भएका हुन् ।
'खानेपानी मन्त्रालयमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मुद्दा समेत जोडिएको हुनाले अहिले तत्कालका लागि पदभार ग्रहण गर्न प्रधानमन्त्रीज्यूले विशेष आग्रह गर्नुभयो,' मन्त्री खानले लोकान्तरसँग भने, 'अरू विषय पछि मिलाउँला भनेर उहाँ(प्रधानमन्त्री)ले विशेष आग्रह गरेपछि मैले उहाँको आग्रह मानेर आज पदभार ग्रहण गर्दैछु ।'
पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके )राउतले पनि आफूहरूकै कारण सरकारलाई अप्ठ्यारोमा नपारौं भनेर भनेको उनले खुलाए ।
'पार्टीको अडानलाई थाती राखेर अहिले पदभार ग्रहण गर्न उहाँले भन्नुभयो,' उनले थपे, 'अर्कातर्फ मेरो नाम नै लिएर मन्त्रालयमा धेरै पत्रहरू आएको, धेरै मिटिङहरूमा समेत जानुपर्ने स्थिति भएकाले पदभार ग्रहण गर्न लागेको हो ।'