
मंगलवार दिउँसो इलामका प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट बाहिरिएलगत्तै इलामको सूर्योदय नगरपालिका– ११ फिक्कल स्थायी घर भएका आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।
प्रहरीले उनलाई तत्काल उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याएको थियो । अस्पताल पुग्दा उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको चिकित्सकले बताएका छन् । उपचारका क्रममा बुधवार आचार्यको मृत्यु भएको छ ।
उनी अस्पतालको आईसीयूमा रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की त्यहाँ पुगेर बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
अस्पतालको आईसीयू निकै संवेदनशील क्षेत्र हो । बिरामीको अवस्था हेरी अनुमति लिएर तथा प्रोटोकल पूरा गरी आईसीयूमा छिर्न त पाइन्छ, तर त्यहाँ पुगेर गम्भीर अवस्थाको बिरामीसँग अनावश्यक कुराकानी गर्नु र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नु अक्षम्य अपराध भएको भन्दै आलोचना शुरू भएको हो ।
अझ गम्भीर कुरा त उनी अस्पताल प्रशासनसँग अनुमति समेत नलिई आईसीयूमा छिरेको पाइएको छ ।
मंगलवार साँझ करीब ६ बजेको समयमा अस्पताल प्रशासनका कर्मचारीहरू घर गइसकेका थिए । अस्पतालमा अत्यावश्यक सेवामा खटिएका चिकित्सक, नर्स र सुरक्षा गार्ड मात्र थिए ।
राज्यमन्त्री डा. कार्की अगाडि–पछाडि सुरक्षा गार्ड लिएर विनाअनुमति आईसीयूमा छिरेको पाइएको अस्पतालका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।
अस्पतालका ‘चिफ कोअर्डिनेटर’ हेमन्तध्वज जोशीले भने मन्त्रीले अनुमति लिए/नलिएको आफूलाई जानकारी नभएको बताए ।
‘हामीहरू बेलुका ६ बजे बिदा भएर गइसकेका थियौं । सेक्युरिटी गार्ड र आवश्यक डाक्टर तथा नर्सबाहेक अरू हुनुहुन्थेन । उहाँ (मन्त्री कार्की) प्रहरी र सेनाको गार्ड लिएर आउनुभएको रहेछ । उहाँलाई छेक्ने आँट कसलाई हुन्छ र सर ?’ जोशीले लोकान्तरसँग भने, ‘त्यहाँका गार्ड र डाक्टरलाई चाहिँ सोध्नुभयो कि भएन, त्यो बुझ्नै पर्छ ।’
उनले आईसीयूभित्र गएर त्यसरी भिडियो खिच्न भने अनुमति लिएर पनि नपाइने बताए ।
‘त्यो त संवेदनशील क्षेत्र हो, फोटो/भिडियो खिच्न पाइँदैन,’ जोशीले लोकान्तरसँग भने, ‘उहाँहरूले खिच्नुभएको रहेछ, मन्त्रीज्यूलाई रोक्न कसले सक्ने ?’
भिडियो खिच्नका लागि अरू व्यक्ति पनि जानैपर्ने हुन्छ, त्यसरी दलबलसहित आईसीयूमा छिर्नु उचित नभएको नाम उल्लेख नगर्ने शर्तमा सोही अस्पतालका अर्का एक स्वास्थ्यकर्मीले बताए ।
गम्भीर घाइते अवस्थाका आचार्यसँग तोसिमाले ‘मेरो नाम पनि लेख्नुभएको रहेछ तपाईंले ...’ भन्दै कुराकानी गरेकी थिइन् ।
‘अनुमति लिएर तथा प्रोटोकल पूरा गरी आईसीयूमा सीमित व्यक्तिलाई जान दिने गरिएको छ, तर गम्भीर अवस्थाको बिरामीसँग त्यसरी कुराकानी गर्नु र भिडियो खिच्नु गलत कुरा हो,’ पहिचान खुलाउन नचाहेका ती कर्मचारीले भने, ‘आईसीयूमा जानै परे पनि आफू एक्लै गएर सम्बन्धित चिकित्सकसँग भेट्ने र आवश्यक जानकारी लिने तथा निर्देशन दिने गर्नुभएको भए उचित हुन्थ्यो ।’
मन्त्रीको हिसाबले भेट्न जानु सामान्य भए पनि यसरी अनावश्यक कुराकानी गर्नु र भिडियो खिचेर स्टन्ट गर्नु गलत भएको अधिवक्ता मुरारी सापकोटा बताउँछन् ।
‘यत्रो ठूलो घटनामा मन्त्रीले चासो लिनु ठीकै हो । उहाँ डाक्टरको हिसाबले अस्पताल जानुभएको पनि ठीकै होला, तर भिडियो खिचेर स्टन्टबाजी गर्नु गलत छ,’ अधिवक्ता सापकोटाले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालको पछि लागेर संवेदनशील क्षेत्रको भिडियो बाहिर ल्याउँदा त्यसले के असर पर्छ भन्ने कुरा उहाँले ख्याल गर्नुपर्थ्यो ।’
तर, चिकित्सक डा. जागेश गौतमले भने राज्यमन्त्री कार्कीले आईसीयूभित्र जाँदा ‘प्रोटोकल’ पालना गरेको देखिएको तर्क गरे ।
‘आईसीयूमा जाँदा लगाउने एप्रोन, मास्क, खोल्नुपर्ने जुत्ता लगायतका विषय पालना गर्नुभएको देखिन्छ । त्यसरी हेर्दा उहाँले प्रोटोकल नै उल्लंघन गरेको चाहिँ भन्न मिलेन,’ डा. गौतमले भने, ‘उहाँ एउटा डाक्टरको हिसाबले जानुभएको हो कि जस्तो पनि देखिन्छ ।’
सामाजिक सञ्जालमा अहिले मन्त्री कार्कीको चर्को आलोचना भइरहेको छ । राजीनामाको माग समेत उठेको छ । यसै विषयमा ट्विटरमार्फत असन्तुष्टि जनाउँदै एक प्रयोगकर्ता मानवी पौडेलले संवेदनशील क्षेत्रमा जाने मन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तोसिमा, स्वास्थ्य राज्यमन्त्री निकै संवेदनशील र जिम्मेवार पद हो । आफैं डाक्टर भएर आईसीयूमा रहेको बिरामी भेट्न जाँदा आफ्नो पद र डाक्टरी पेशाकै संवेदनशीलताको ख्याल राख्नु पर्दैन ? यदि साँच्चै पद र गोपनीयताको ख्याल छ भने मन्त्री पदबाट राजीनामा दिएर जिम्मेवार जनप्रतिनिधिको उदाहरण पेश गर्नू ।’